काठमाडौ, आश्विन २२ - मुखैमा आएको बडादसैं तथा तिहारको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम धेरै पक्षमा अर्थपूर्ण रह्यो । छाउनीस्थित भाडाघरको प्रतिष्ठानमा पहिलोपटक प्रज्ञासभाका १५ र परिषद्का ८ सदस्यहरू भेला भएका थिए । प्रतिष्ठानका सदस्यसचिव तीर्थ श्रेष्ठको भने अस्वस्थताका कारण उपस्थिति थिएन ।
'प्रतिष्ठानमा हामी सभाका सदस्यको कुनै स्थान र भूमिकै नभएको भान भएको थियो, आज फूलको माला पाएका छौं, खुसी लागेको छ,' प्राज्ञसभाका सदस्य मदनदास श्रेष्ठले समारोहमाझ भने । यसअघि झन्डै दुई महिनाअघि प्रतिष्ठान कार्यकालको सय दिन पुगेको दिनमा आयोजित अनौपचारिक समारोहमा प्रज्ञा परिषद्का नौजना पदाधिकारीले मात्रै सयपत्री माला लगाएको तस्बिर पत्रपत्रिकामा छापिएको झोंक सभाका अधिकांश सदस्यमा रहेछ । बिहीबारको समारोहमा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले प्रज्ञासभाका सबै सदस्यलाई सयपत्री माला र रातो टीका लगाएर स्वागत गरेपछि सानोतिनो वैमनस्यता आपसी मिलापमा टुंगिएको संकेत मिल्यो । त्यो क्षणप्रति प्राज्ञ रामकृष्ण दुवालले त 'प्रशव वेदनापछि बच्चा जन्मेजस्तो खुसी मिलेको' टिप्पणी गरे । यही रमझम माहोलमा प्राज्ञद्वय अभिनेत्री मिथिला शर्मा र लोकगायिका कविता आलेसँग कान्तिपुरले विशेष कुराकानी गर्ने मौका पाएको थियो ।
शर्मा : कस्तो लागिरहेको छभन्दा पनि आफ्नो विषय र क्षेत्रमा काम गर्न आएजस्तो भइरहेको छ । म आफैं पनि नाचेर -नृत्यांगना भएर) यहाँसम्म आएकी हुँ । तर यो ठाउँमा आएपछि मलाई के लागेको छ भने हिजो जसले मलाई बचाएको थियो, त्यसलाई नै बचाउने अभिभारा मैले आज पाएकी छु ।
आले : गीत गाएरै म कविता आले भएँ, चिनिएँ । आफ्नो मिहिनेत वा गायकीबाट जसरी मेरा फ्यानहरूले मन पराउँथे, खुसी लाग्थ्यो । अहिले आएर संगीतप्रतिको मेरो लगाव राज्यले बुझेको महसुस भइरहेको छ । अब प्राज्ञ भएर आइसकेपछि काँधमा आइपरेको जिम्मेवारीलाई कसरी सफल बनाउँदै लैजाने भन्ने कुरामा म सोचमग्न छु ।
जिम्मेवारी के छ ?
शर्मा : मेरो आफ्नै विधा नृत्य । नृत्य विभाग हेर्छु म ।
आले : लोकसंगीत विधा नै हो ।
प्रज्ञा प्रतिष्ठानले काम गर्न सकेन भनेर जहाँ पनि आलोचना भइरहन्छ, भित्र तपाईंले के पाउनुभयो ?
शर्मा : संगीत नाट्य एकेडेमी भर्खरै खुलेको हो । पहिलोपटक स्थापना भएकाले सीधै आलोचक बन्नु ठीक होइन । सुरुवात बल्ल भएको छ । अब हिँड्ने बाटो बनाउनुछ । नियमावली बनाउनुपर्नेछ । अफिसियल काम पनि जति छन्, फिल्डमा गर्नुपर्ने पनि त्यत्तिकै छन् । चार महिना मात्रै भयो, स्थापना भएको । राज्यले पनि न्यायपूर्वक स्थान दिन सकिरहेको छैन । अरू एकेडेमीको आफ्नै भवन छ, हामीले त 'तपाईंको घर खाली छ ?' भन्दै हिँड्नुपर्यो । हाम्रो हबिगत यस्तो छ । त्यसैले हामी आलोचनाबाट भन्दा पनि एकअर्काको सहयोग, सल्लाह र सुझावले मात्रै अघि बढ्न सक्छौं ।
आले : हो, बाहिर बस्दा र भित्र पस्दाको कुरा भिन्न हुन्छ नै । सरकारले कलाकारलाई 'देशका गहना हुन्' भन्न त भन्यो तर, चाहिँदा लगाउने र नचाहिँदा बेवास्ता गर्ने गहनाका रूपमा लियो । अहिले पनि हामीलाई अधिकार त दियो तर व्यवस्थापन समयमा गरिदिएन । यसकारण पनि आलोचनाभन्दा सृजनात्मक र सकारात्मक सुझावको अपेक्षा छ ।
यो अवधिमा के गर्नुभयो त ?
शर्मा : 'फिजिकल्ली' जसरी हामी आफ्नो ठाउँ खोज्नमै समय खर्चिनुपर्यो, 'मेन्टल्ली' पनि त्यसैले डिस्टर्ब गर्यो । नाट्य संगीतमा शोध-अनुसन्धानका अनगिन्ती विषय हुने भएकाले कति चिजहरू हराएर गइरहेको हुन सक्छ, खोज्नुछ । यसका लागि सम्बन्धित जानकारसँग सहकार्य र सल्लाह गर्नु जरुरी छ । म बाँच्दै आएको नृत्य विषयलाई बचाउनका लागि मेरा पनि छुट्टै योजना छन् । ती भनेर भन्दा पनि गरेर देखाउनेछु । पक्कै पनि यो विषयलाई हेला गरेर हेरिने चलन विद्यमान छ र, भोलि नहोस् भनेर युवापुस्तामा हाम्रो नृत्य बाँच्न सकोस् । आफू बाँच्न र चिनिन आफ्नै कला/नृत्य चाहिन्छ । आजको पुस्ता साल्सा नृत्यमा उत्कृष्ट होला तर 'आफ्नो नृत्य गर त' भन्यो भने
आफ्नै सोरठी, घाटु नै नाच्नुपर्ने हुन्छ, कुमारी नै नाच्नुपर्छ ।
आले : प्राज्ञ मिथिला शर्माले भनेझैं मानसिक, भौतिक र मनोवैज्ञानिक कठिनाइहरूमाझ हिँड्नुपरेको छ । लोकसंगीतमा शोध-अनुसन्धानका थुप्रै काम छन्, परामर्श र योजनाकै फेजमा छु म ।
चारवर्षे कार्यकालमा आफ्नो विधालाई कुन तहमा पुर्याउने लक्ष्य छ ?
शर्मा : संगीत-नृत्यको विधालाई कहीँ पुर्याउनै पर्दैन । यो आफैंमा विशिष्ट श्रेणीमा हुन्छ । यत्ति हो कि यसमा परेको छायाँलाई हटाउनु आवश्यक छ । हाम्रो मौलिक नृत्यलाई बाहिरी आक्रमण जुन भएको छ, त्यसले गर्दा उठ्न सकिरहेको छैन । यसमा ध्यानाकर्षण गर्ने/गराउने कामसम्म हुनेछ भन्ने लाग्छ ।
आले : सभा र परिषद्का हामी २४ सदस्य मिलेर केही नयाँ काम गर्ने अठोट लिएका छौं । हेयका दृष्टिले हेरिने सामाजिक परिपाटीमा केही परिवर्तन खोज्नेछौं । हाम्रो मौलिकतामाथि भइरहेको बाहिरी हस्तक्षेप रोक्न र आफ्नैपना उजागर
गर्नमा लाग्नेछौं । यत्ति हो कि राज्यले दिएको अधिकारभित्र रहेर हिजो गरेका कामभन्दा बढी केही गर्ने अठोट छ ।
सामाजिक मान-मयार्दामा उच्चपदस्थ प्राज्ञ भएर कार्पेट वा चाउचाउको विज्ञापनमा खेल्नु कत्तिको सुहाउला ?
शर्मा : म मिथिला शर्मा एउटा अभिनेत्री पनि हो र, एउटा सामाजिक उत्तरदायित्व बोकेकी महिला पनि । उसलाई बाँच्नका लागि समाजमा कुनै किसिमको असर नपर्ने गरी कुनै भूमिकामा खेल्न पूरापुर अधिकार छ । यदि मैले कसैलाई रक्सी वा ड्रग्स खुवाउन उत्प्रेरित गर्ने कुनै विज्ञापनमा खेलेँ भने म सामाजिक दायित्वबाट पन्छेको हुन्छ । मैले खेलेको विज्ञापनले कसैलाई शारीरिक वा मानसिक असर पर्दैन भने खेल्न म पूर्ण स्वतन्त्र छु ।
आले : चाउचाउ उम्रेदेखि खुम्रेसम्मलाई खानैपर्ने चिज हो । 'यस्तो चाउचाउ आउँदै छ है' भनेर सन्देश दिएकी हुँ । तर यो प्राज्ञ हुनुअघि नै तय भएको विषय हो । प्राज्ञको ठाउँमा प्राज्ञ कविता आले छँदै छे ।
0 comments:
Post a Comment